दाङ । प्रहरीले तुलसीपुरमा ब्राउनसुगरको डिलरमा छापा मारेको छ । तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । ईप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार शनिबार बेलुकी श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर ताैल्न प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् । श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने र उनका श्रीमती र छोराले बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी अर्यालले बताउनुभयो ।
यसैगरी प्रहरीले तुलसीपुरको नयाँबसपार्कबाट थप दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । ब्राउनसुगरको कारोबार भइरहेको सुचनाका आधारमा चेकजाँच गर्दा धिरज बुढाथोकीको साथबाट ५४० मिलिग्राम र प्रख्यात शाहको साथबाट २६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
स्रोतका अनुसार सुशीला श्रेष्ठले प्रहरीकै मिलेमतोमा ब्राउनसुगरको कारोबार गर्दै आएकी थिइन । उनको ब्राउनसुगरको कारोबारमा कोको प्रहरी अधिकारी संलग्न छन् भन्ने खबर अर्को श्रृङखलामा प्रस्तुत गर्नेछाैँ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्