गोरखा । मालपोत कार्यालय गोरखालाई प्राप्त भएको गाडी सञ्चालनमा नआउँदै थोत्रिएको छ । विगत पाँच महीनादेखि जिल्ला समन्वय समितिको कार्यालय परिसरभित्र बेवारिसे अवस्थामा गाडी थन्किएर बसेको छ ।



प्रदेश ३–०१–००२ झ ४९४६ नम्वरको उक्त गाडीको अगाडी टयार पञ्चर भइसक्यो । घामपानीले रङ समेत उड्न थालेको छ । तर कार्यालयले न सञ्चालनमा ध्यान दिएको छ न मर्मत र संरक्षणमा ।
कार्यालयका लागि भन्दै गत असार महीनामा भूमि व्यवस्थापन तथा अभिलेख विभागले उक्त गाडी पठाएको हो । तर प्राप्त भएदेखि नै कार्यालयले गाडी सञ्चालनमा ल्याउन सकेको छैन । चालक नभएका कारण गाडी सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ ।

‘विभागले गाडी त पठायो तर चालकको दरबन्दी नै छैन,’ कार्यालयका निमित्त प्रमुख सूर्य प्रसाद शर्माले भने, ‘कार्यालयमा कुनै आर्थिक स्रोत नभएका कारण हामी आफैले चालक राख्न सक्ने अवस्था पनि छैन ।’
चालकको दरबन्दी माग गर्दै बारम्बार मन्त्रालय र विभागमा पत्राचार गरेपनि हालसम्म सम्बोधन नभएको उनले बताए । उनका अनुसार बिभागले स्थानीय तहसँगै समन्वय गरेर आर्थिक स्रोत जुटाउन भन्दै आएको छ । तर स्थानीय तहलाई पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको उनी बताउँछन् ।

