काठमाण्डाै – सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा ‘जेन जी’ भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ ।
प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १४ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट हस्पिटल बानेश्वरमा ३, सिभिल अस्पतालमा २ तथा केएमसी र त्रिवि शिक्षण अस्पतालमा १–१ जनाको ज्यान गएको छ । मृतकहरूको पहिचान खुलेको छैन ।
यस्तै अस्पतालहरूमा २ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।
काठमाण्डौको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू अघि बढ्दै बानेश्वरमा पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीहरू संसद भवन छिरेपछि प्रहरीले शुरूमा लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि अन्धाधुन्ध गोली चलाएको थियो । सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई हटाउन सकिने अवस्था हुँदाहुँदै घातक दमन गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव बढेको छ । ज्यान जाने गरी गोली लागेका घटना सबै बानेश्वर क्षेत्रमा भएका छन् ।