सिरहा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

सप्तरीबाट महोत्तरीको भंगाहा जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको टिपर बुधबार राति साढे १० बजेतिर ठोक्किँदा ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै बसमा सवार जन्तीहरू हुन् ।

महोत्तरीको भंगहा-३ टिकुलियाका ४४ वर्षीय सुनील सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशालाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकसहित ३१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीका अनुसार घाइतेहरूको स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।

Advertisements

पश्चिमबाट आउँदै गरेको टिपरले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा जन्ती बोकेको बससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्