दाङ । सशस्त्र प्रहरी बलको तुलसीपुर बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक अधिकारीले संगठनको नीती बिपरीत घुमुवा खटाएका छन् । स्रोतका अनुसार असार २ मा तुलसीपुर बेसको जिम्मेवारी सम्हालेका अधिकारीले ४ गते शनिवार नै उनले बेसमा कार्यरत सबै सशस्त्र प्रहरीलाई सामेलगरी घुमुवा बस्नेले हात उठाउन भनेका थिए ।
बेसपतीको निर्देशन पश्चात सहायक हवल्दार मिनबहादुर केसी र जवान कृष्ण चौधरीले हात उठाएका थिए । केसीले र चौधरीले घुमुवा बस्ने ईच्छा जाहेर गरेपछी इन्सपेक्टर अधिकारीले मासिक कति पैसा उठाउन सकिन्छ ? भनेर जिज्ञासा राखेका थिए । जवाफमा सहायक हवल्दार केसीले मासिक डेढ लाख र जवान चौधरीले चार लाख रुपैयाँ दिने बताएको स्रोतको दावी । ‘मिनबहादुरले डेढ लाख र कृष्णले साढे तीन लाख मासकि बुझाउने प्रतिवद्धता जनाएका छन् ।’ तुलसीपुर बेसका एक सशस्त्र प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा भने,‘भनेजति पैसा उठाउन नसके इन्सपेक्टरसाबले एक महिनामै घुमुवाबाट हटाउने पनि भन्नुभएको छ ।’
मिनबहादुर र कृष्ण इन्सपेक्टरको आदेश अनुसार सादा पोशाकमा यसक्षेत्रका व्यवसायीसँग रकम असुल्न थालिसकेका छन् । उनीहरुले बिषेशगरी ट्रेक्टर व्यवसायीसँग पैसा माग्ने गरेका छन् । तुलसीपुर क्षेत्रमा करिब सातसय ट्रेक्टर व्यवसायी छन् । उनीहरुको मुख्य काम बालुवा र ढुंगा उत्खनन गरेर बेच्नु हो । असारदेखी भदौसम्म बालुवा र ढुंगा उत्खनन् गर्नु गैह«कानूनी हो । यहीँ गैह«कानूनी काममा सघाउनेगरी तुलसीपुर बेसले ट्रेक्टर व्यवसायीसँग तुलसीपुर बेसले रकम असुल्दै आएको छ । नयाँ इन्सपेक्टरले सादा पोशाकमा खटाएका घुमुवाले खोलाबाट बालुवा र ढुंगा लैजाने भए प्रति ट्रेक्टर मासकि पाँच हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायीसँग बार्गेनिङ सुरु शुरु गरेका छन् । मासिक पाँच हजार रुपैयाँ नदिए सशस्त्रका घुमुवाले बर्खामा टे«क्टर खोलामा हाल्न नदिने भनेर धम्क्याएको एक टे«क्टर व्यासायीले बताए ।
घुमुवा खटाइएका केसी र चौधरी सशस्त्र प्रहरी संगठनमा विवादित व्यक्ति हुन् । उनीहरु दुर्वलाई यसअघी तुलसीपुरमा घुमुवा बस्दा टे«कटर व्यवसायीसँग रकम असुलेको प्रमाण नै फेला परेपछी २९ नम्बर गण भालुसबाङ पठाइएको थियो । तर,उनीहरु काँग्रेस नेताको दबाबमा फेरी उनीहरु तुलसीपुर बेस आएका हुन् ।
बेसपती इन्सपेक्टर अधिकारीले भने घुमुवा भनेर नभई खबर संकलनकालागि उनीहरुलाई परिचालन गर्ने तयारी गरेको प्रतिक्रिया दिएका छन् । ‘खबर संकलनकालगि खटाउने तयारी गरेको छु ।’ अधिकारीले भने,‘घुमुवा भनेर चैँ होइन ।`

इन्सपेक्टर अधिकारीले खबर संकलनकालागि सादा पोशाकमा सशस्त्र प्रहरी खटाउने बताएपनि सशस्त्र प्रहरीको प्रधान कार्यालयले भने हेडक्वाटर बाहेका युनिटले खबर संकलनकालागि खटाउन नमिल्ने बताएको छ । ‘खबर संकलनकालागि हेडक्वाटरले प्रत्येक बाहिनी र गणमा मान्छे खटाएको हुन्छ ।’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी बिदुर खड्काले भने,‘अरु कुनै पनि युनिटले त्यसरी प्रहरी खटाउन पाउँदैन् ।’ कुनै युनिटले खटाएको पाइएमा सम्बन्धित युनिट इन्चार्जलाई कावार्ही गरिने प्रवक्ता खड्काले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्