घोराही । दाङमा सम्बन्ध विच्छेद हुने क्रम घटेको छैन । दाङ जिल्ला अदालतमा कुल मुद्दाको ३३ प्रतिशत भन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा परेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ३१ जोडी दाङ जिल्ला अदालतबाट छुट्टिए । तीन सय ४८ जोडी बिछोडको लाइनमा छन् । जिल्ला अदालतमा एक हजार तीन सय ७९ सम्बन्ध बिच्छेदका मुद्दा रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा फछ्र्यौट नभएका तीन सय ४१ मुद्दा पनि छन् ।



गत आर्थिक वर्षको असार १५ गतेसम्म दाङ जिल्ला अदालतमा एक हजार छ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । दुई सय ७८ थान मुद्दा फछर्यौट भएका थिए भने तीन सय २८ मुद्दा बाँकी थिए ।
‘३३–३४ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा हुन्छ भने समाजको अवस्था कस्तो होला ?’– न्यायाधीश रितेन्द्र थापाले भन्नुभयो– ‘सम्बन्ध विच्छेदपछि उनीहरूको बालबालिकाको अवस्था कस्तो होला, उनीहरूको मनोविज्ञान कस्तो होला ?’ न्यायाधीश थापाका अनुसार अपराधमा संलग्न धेरै बालबालिका पनि सम्बन्ध विच्छेद गरेका बाबुआमाकै सन्तान भएका पाइएका छन् । ‘हामीले सकेसम्म सम्बन्ध विच्छेद नहोस् भन्ने चाहन्छौं’– उहाँले भन्नुभयो– ‘हामीले मेलमिलाप केन्द्रमा पठाउने गरेका छौं । कतिपय मेलमिलाप समेत भएका छन् ।’

दाङ जिल्ला अदालतको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेद समेतका आठ सय नौ मुद्दा रहेकोमा एक सय ५६ वटा मेलमिलाप गर्न सफल भएका छन् भने पाँच सय ६३ वटा असफल भएको अदालतले जानकारी दिएको छ । गत आर्थिक वर्षको असार १५ सम्म दुई हजार सात सय ३० थान मेलमिलाप हुन सक्ने मुद्दामा सात सय ३७ मुद्दा मेलमिलापमा पठाइएको थियो जसमध्ये ७७ थान सफल भएका थिए । चार सय ९८ असफल भए भने एक सय ५९ थान मुद्दा प्रक्रियामा रहेका थिए । दाङ जिल्ला अदालतमा सूचिकृत मेलमिलाप कर्ता २२ जना रहेका छन् ।
जबर्जस्ती करणी उस्तै
दाङ जिल्ला अदालतमा जबर्जस्ती करणीका मुद्दा पनि तुलनात्मकरुपमा धेरै रहेको देखिएको छ । सरकारी फौजदारी मुद्दामा जबर्जस्ती करणीका मुद्दा सबैभन्दा बढी दर्ता भएको न्यायाधीश रितेन्द्र थापाले जानकारी दिनुभयो । दाङ जिल्ला अदालतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा एक सय २९ थान जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको समेत गरी जिल्लामा दुई सय १४ थान बलात्कारका मुद्दा दर्ता छन् जसमध्ये एक सय ४२ थान मुद्दा फछर्यौट भएका छन् भने ७२ थान मुद्दा बाँकी रहेका छन् । गत वर्षको असार १५ सम्ममा जबर्जस्ती करणीका मुद्दा एक सय ७८ दर्ता थिए । जसमध्ये ९५ वटा फछ्र्यौट भएर ८३ थान बाँकी रहेका थिए ।
अंश मुद्दा पनि बढी
अंश मुद्दा पनि दाङ जिल्ला अदालतमा तुलनात्मकरुपमा बढी दर्ता भएको देखिएको छ । गत आर्थिक वर्षमा जम्मा चार सय ८१ अंश मुद्दा रहेकोमा दुई सय ६२ थान मुद्दा फछ्यौट भएका छन् भने दुई सय १९ थान मुद्दा बाँकी रहेको देखिएको छ । २०७८ असार १५ सम्म दाङ जिल्ला अदालतमा चार सय १४ थान मुुद्दा दर्ता थिए । जसमध्ये एक सय ९१ फछर्यौट भएका थिए भने दुई सय २३ थान अंश मुद्दा बाँकी रहेका थिए ।
दुई हजार ८ सय बढी फछ्र्यौट
दाङ जिल्ला अदालतमा गत आर्थिक वर्षमा चार हजार सात सय ९९ थान मुद्दा दर्ता भएकोमा दुई हजार आठ सय ५४ थान मुद्दा फछर्यौट भएका छन् भने एक हजार नौ सय ४५ थान मुद्दा बाँकी रहेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार छ सय ४२ मुद्दामा एक हजार दुई सय ९४ फछ्र्यौट भई एक हजार चार सय ४८ थान मुद्दा बाँकी रहेका थिए । बाँकीमध्ये ३८ थान मुद्दा दुई वर्ष नाघेका थिए । आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार सात सय ८८ थान मुद्दामा दुई हजार छ थान मुद्दा फछ्र्यौट भएका थिए भने एक हजार सात सय ८२ थान मुद्दा बाँकी थिए । बाँकीमध्ये ८८ थान मुद्दा दुई वर्ष नाघेका थिए ।
अदालतमा दर्ता भएका ७४ थान बहुविवाहका मुद्दामध्ये ४१ थान मुद्दा फछ्र्यौट भएका छन् भने ३३ थान मुद्दा बाँकी छन् । जिल्लामा गत वर्ष पाँच थान बालविवाहका मुद्दा दर्ता रहेकोमा सबै फछ्यौट भएका छन् । मानव बेचविखन तथा ओसार पसारका छ थान मुद्दामध्ये तीन थान फछ्र्यौट भएर तीन थान बाँकी रहेका छन् । एक सय चार थान लागूऔषध मुद्दामा ५७ थान फछ्र्यौट भई ४७ थान मुद्दा बाँकी रहेका छन् । सवारी ज्यान अंगभंग ९७ मुद्दामा ६४ थान फछ्र्यौट भई ३३ थान बाँकी रहेका छन् । जग्गा सम्बन्धी विवादका ९९ थान मुद्दामा ३१ थान फछर्यौट भई ६८ थान मुद्दा बाँकी रहेका छन् । एक सय ३५ थान चोरी तथा डाँका मुद्दामा ६९ थान फछ्र्यौट भई ६६ थान बाँकी रहेका छन् । तीन सय १९ थान दर्ता रहेका लेनदेनका मुद्दामा दुई सय चार थान फछ्र्यौट भई एक सय १५ थान बाँकी रहेका छन् ।
यता नाबालकतर्फ एक सय आठ थान मुद्दा रहेकोमा ६३ थान फछ्र्यौट भई ४५ थान मुद्दा बाँकी रहेको तथ्यांक छ । जसमा चोरीका २९, जबर्जस्ती करणीका २६, लागूऔषधका १४ र ज्यान मार्ने उद्योगका १९ थान मुद्दा अदालतमा दर्ता छन् । दाङ जिल्ला अदालतमा जम्मा बाँकी रहेका एक हजार नौ सय ४५ थान मुद्दामध्ये नौ महिनाभित्रका नौ सय ४४, ६ महिनादेखि एक वर्षभित्रका छ सय सात, एक वर्षदेखि १८ महिनासम्मका दुई सय नौ, १८ महिनादेखि दुई वर्षभित्रका एक सय ५८ र दुई वर्ष नाघेका २७ थान मुद्दा दाङ जिल्ला अदालतमा छन् ।
झण्डै ११ करोड जरिवाना
दाङ जिल्ला अदालतले गत आर्थिक वर्षमा जरिवानावापत १० करोड ९४ लाख ६४ हजार पाँच सय ९६ रुपैयाँ लगत रहेकोमा तीन करोड २९ लाख १९ हजार चार सय ९५ रुपैयाँ फछ्र्यौट भएको छ । सात करोड ६५ लाख ४५ हजार एक सय एक रुपैयाँ बाँकी रहेको देखिन्छ । दुई हजार तीन सय ३४ वर्ष १२ महिना २२ दिन कैद लगत रहेकोमा एक हजार एक सय ४३ वर्ष १२ महिना १२ दिन फछ्र्यौट भएको छ भने एक हजार एक सय ९१ वर्ष १० दिन बाँकी देखिन्छ । अदालतमा छ सय ९४ फैसला कार्यान्वयनमा निवेदनमध्ये चार सय ८६ फछ्र्याैट भई दुई सय आठ बाँकी रहेको छ ।
यसैबीच दाङ जिल्ला अदालतले गत आर्थिक वर्षमा २७ जोडीको विवाह पनि गराइदिएको छ । विवाहका लागि २९ निवेदन परेकोमा २७ जनाको विवाह अदालतले गराइदिएको हो । -नयाँ युगबोध दैनिकबाट

