दाङ । तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीकोकाम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ ।



जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया रखाजा बनाउने प्रयोजनमा छ ।
गत कार्तिक १७ दिउँसो २ बज्नै लाग्दा चिसो महसुस भएपछि महिला चौकीदार सीता चौधरी (नाम परिवर्तन) किचेनमा पानी तताउनगइन् । उनी किचेनमा पुग्नासाथ पछिपछि पुरूष चौकीदार खुमबहादुर चौधरी पनि पुगे ।

उनले सीतालाई विभिन्न प्रकारका धम्की दिएर बलात्कार गरेको आरोप छ । खुमबहादुरले सीतालाई बलात्कार गर्दा दिउँसोको दुईबजिसकेको थियो ।
खुमबहादुरलाई बाहिर नदेखेपछि कारागारका सुरक्षा प्रमुख सई केशव रेग्मीले खोजतलास गरे । नभेटेपछि उनी किचेनतिर गए ।तर, किचेन छिर्ने ढोकामा चुकुल लगाइएको थियो । उनी भर्याङको छेउमा उभिए ।
केहीबेरमा खुमबहादुर बाहिर निस्किए । त्यसको केहीबेरमा सीता पनि बाहिर निस्किइन् । यतिन्जेल सई रेग्मीले जेलर रम्बा केसीलाईशंकास्पद गतिविधिका बारेमा रिपोर्टिङ गरिसकेका थिए ।
जेलरले दुवैलाई आफ्नो कार्यकक्षमा बोलाएर सोधपुछ गरिन् । सोधपुछका क्रममा सीताले पानी तताउन किचेनमा गएको वेलाखुमहादुरले आफूमाथि जबरजस्ती गरेको बताइन् । उनले आफू बलात्कारमा परेको भन्दै उजुरी लेखिन् । उनको स्वास्थ्य जाँच गरियो रत्यही दिन खुमबहादुरविरूद्व जबरजस्ती करणीको जोहरी दर्ता भयो ।
बलात्कारकै सजाय भोगिरहेका थिए खुमबहादुर
चौकीदारलाई नियमअनुसार कैदी बस्ने जेलबाट कारागारको प्रशासनिक भवनमा आउने सुविधा छ । सोही सुविधा उपयोग गरीकारागारभित्रै बलात्कार भएको हो । जेलर केसीले कारागारभित्रै बलात्कार हुनु दुःखद भएको भन्दै आफैंले पहल गरेर कानूनी उपचारखोजिएको बताइन् ।
कारागारभित्रै कैदी बलात्कार भएको घटना गुपचुप पार्न कारागार प्रशासन लागेको थियो । कारागारभित्र बलात्कार भएको समाचारलेख्न कुनै जरूरी नभएको जेलर केसीले नेपाल प्रेसलाई बताइन् ।
इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले कारागारभित्रै बलात्कार भएको उजुरी आएपछि कानूनी कारबाही अघि बढाएको बताए ।आरोपी जेलमै भएकाले प्रहरीले हिरासतमा लिन नपरेको मल्लले बताए ।
डीसपी मल्लले भने, ‘हामीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा मिसिल पठाइसकेका छौं ।’
डीएसपी मल्लका अनुसार बलात्कार आरोपी खुमबहादुर यसअघि पनि बलात्कार मुद्दामै तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेकाकैदी हुन् । उनले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्षकैद फैसला गरेको थियो ।
बलात्कारकै सजाय भोगिरहेका कैदीले कारागारभित्रै फेरि बलात्कार गरेको यो नेपालकै पहिलो घटना भएको डीएसपी मल्ल बताउँछन् ।
सरकारी वकिल कार्यालय दाङले आरोपित, पीडित र कारागारका कर्मचारीलाई बकपत्र गराइसकेको छ । बलात्कृत महिला बैंकिङकसुरमा सजाय भोगिरहेकी छन् ।

